बागमती : सर्लाहीको बागमतीका दुई स्थानमा भएका चार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
सोमबार साँझ बागमती पुलबाट बागमती १२ स्थित भरत तालतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०३१ प ४९२३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ज ११ प ५५०५ नम्वरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाराको कोल्हबी नगरपालिका–९ घर भएकी ४२ वर्षीया इनरवती देवी चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार आफ्नै छोराले चलाएको मधेस प्रदेश ०३–०३१ प ४९२३ नम्बर मोटरसाइकलको पछाडि बसेकी इनरवतीलाई उपचारको लागि रौतहटको चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा मृतक इनरवतीका छोरा ३२ वर्षीय दीपक चौधरी र सोही मोटरसाइकलमै सवार इनरदेवीका अर्का छोरा २८ वर्षीय रामरुप चौधरी घाइते भएका छन्। उनीहरुको चन्द्रपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दीपक चौधरीले चलाएको मोटरसाइकललाई ठक्कर दिने ज ११ प ५५०५ नम्बरको मोटरसाइकलका चालक सर्लाहीकै ईश्वरपुर नगरपालिका–९ का २० वर्षीय विशाल महतो र मोटरसाइकल पछाडि सवार भारतीय नागरिक २० वर्षीय प्रेमकुमार भगत पनि घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
त्यस्तै, सोमबारै बागमती नगरपालिका–१२ स्थित बथाने टोलमा बागमती प्रदेश ०२–०५७ प ७८७९ नम्बरको मोटरसाइकललाई प्रदेश ०२–०३–००१२ प २४३० नम्वरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा पछाडिबाट ठक्कर दिने प्रदेश ०२–०३–००१२ प २४३० नम्बरको मोटरसाइकलका चालक रौतहटको चन्द्रपुर नगरपालिका–१० का १८ वर्षीय घनश्याम चौधरी, बागमती प्रदेश ०२–०५७ प ७८७९ नम्बरको मोटरसाइकल चालक रौतहटको दुर्गा भगवती गाउँपालिका–१ घर भएका १८ वर्षीय राजु चौधरी र उनकी आमा ४५ वर्षीया राधिका देवी चौधरी घाइते भएका छन्।