बर्दिबास : बाबा बागेश्वर नामले परिचित धीरेन्द्र शास्त्री लाई अतिवादी भनेपछि, बागेश्वर धामका समर्थकहरूले महोत्तरीको जलेश्वरमा कान्तिपुर दैनिक पत्रिका जलाएका छन्।
हिन्दू धर्ममाथिको आस्था र विश्वासमाथि प्रहार गर्ने समाचार लेखेको भन्दै हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष बालबिर गुप्ता नेतृत्वका करिब १० जनाको समूहले जलेश्वर नगरपालिका वडा २ महेन्द्र चोकमा विभिन्न नारासहित केही थान कान्तिपुर दैनिक पत्रिका जलाएर विरोध प्रदर्शन गरेका हुन्।
व्यापारिक घराना चौधरी समूहले भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीस्थित शाश्वत धाममा ल्याउने तयारी गरिरहेको समाचार कान्तिपुरले लेखेको थियो। कान्तिपुरले साउन २८ गते ‘अतिवादी धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै’ भन्ने शीर्षकमा समाचार लेखेको थियो। सोही दिनदेखि हिन्दूवादी संघ संगठनहरूले कान्तिपुर पत्रिकाको विरोध गरिरहेका छन्।
‘हिन्दु विरोधी कान्तिपुर मुर्दावाद’ को नारा लगाउँदै उक्त समूहले पत्रिका जलाएको थियो। उनीहरूले कान्तिपुर पत्रिका वितरण गर्ने गाडी जलाउने धम्कीसमेत दिएका थिए। उनीहरूले सामाजिक सञ्जालमा कान्तिपुरलाई अनफलो गर्ने अभियान पनि चलाएका छन्।