बारामा शिक्षक कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

बारा : शिक्षक कुटेको आरोपमा पक्राउ परेका बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्षमाथि प्रहरीले अपहरण र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

वडाध्यक्ष वृजकिशोर कुशवाहाले साउन २८ मा प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षकलाई कुटेका थिए ।पीडित शिक्षक नागेश्वर यादवले दिएको जाहेरी दर्ता गरेर वडाध्यक्षलाई पक्राउ गरिएको बाराका एसपी सन्तोष तामाङले बताए ।

शिक्षक तामाङका अनुसार वडाध्यक्ष कुशवाहा ८ दिनअघि पक्राउ परेका हुन् ।

तर, कुटपिट गरेको भिडियो मंगलबार सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । भिडियो बाहिरिएपछि त्यसबारे धेरैले चासो व्यक्त गरेका छन् ।

आरोपी विरुद्ध अपहरण शरीर बन्धक र ज्यान मार्ने उद्योग सहितको कसुरमा अनुसन्धान भइरहेको एसपी तामाङले जानकारी दिए ।

नागेश्वर यादव महागढीमाई नगरपालिका–१० गञ्जभवानीपुर स्थित भोला माविका शिक्षक हुन् । उनले निजी ट्युसन सेन्टर पनि सञ्चालन गरेका छन् ।

छात्राहरूलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै वडाध्यक्षले ती शिक्षकलाई आफ्नो कार्यालयमा बोलाएर कुटेका हुन् । अर्धनग्न बनाएर तथा हात बाँधेर अन्य व्यक्तिहरूको सामुन्ने वडाध्यक्षले कुटेको भिडियोमा देखिन्छ ।

कुटपिट गर्ने बेलामा वडाध्यक्षले मादक पदार्थ सेवन गरेको शिक्षकले दाबी गरेका छन् । कुशवाहा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार

सबै