सिमरा झडपः समाधानका लागि मन्त्रीसहित जेनजी प्रतिनिधिहरू सिमरा आउँदै

कबिलासी । बाराको सिमरामा जेनजी युवाहरू र नेकपा एमालेका कार्यकर्ताहरूबीच भएको झडपले उत्पन्न तनावपूर्ण परिस्थितिलाई नजिकबाट बुझ्न र समाधानको पहल गर्न खेलकुद तथा युवामन्त्री बब्लु गुप्तासहित जेनजीका प्रतिनिधिहरू सिमरा पुगेका छन् ।

बिहीबार साँझ मन्त्री गुप्तासँगै ‘हामी नेपाल’का संयोजक सुदन गुरूङ, र जेनजी प्रतिनिधिहरू पुरूषोत्तम यादव, अभिषेक सिंह लगायतको टोली सिमराका लागि प्रस्थान गरेको हो । टोली अहिले जनकपुर पुगिसकेको र त्यहाँबाट बाराको सिमरातर्फ जाँदै गरेको जनाइएको छ ।

जेनजी प्रतिनिधि पुरुषोत्तम यादवले आफूहरू सिमरामा भइरहेको गतिविधिबारे वार्ताका लागि जाँदै गरेको जानकारी दिए ।
सिमरामा हिजो दिनभर अस्तव्यस्तता छाएको थियो भने आज पनि कर्फ्यु जारी गरिए तापनि प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भएको थियो ।

एमाले नेताहरूलाई कारबाही नगरिएसम्म प्रदर्शन नरोक्ने जेनजी युवाहरूको चेतावनीबिच मन्त्रीसहितको टोलीको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि भएको झडपले सिमराको जनजीवन प्रभावित भएको छ भने स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

मन्त्री र जेनजी प्रतिनिधिको यस भ्रमणले सिमराको तनाव कम गर्न र द्विपक्षीय वार्तामार्फत समाधान खोज्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै