रौतहट : रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा शुक्रवार बिहान एक स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
जयनगरबाट मानपुरतर्फ जाँदै गरेको ओम एकेडेमी विद्यालयको प्रदेश–३–००१ ख १७२६ नम्बरको स्कुल बसको ठक्करबाट २ वर्षीय आदित्य कुमार साहको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
बिहान सवा ८ बजे भएको उक्त दुर्घटनामा स्थानीय रञ्जन साहका छोरा आदित्यलाई बसले ठक्कर दिएको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए। बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।
यस्तै दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार रहेका बस चालकको खोजी तीव्र गतिमा जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ।