रौतहट । यमुनामाई गाउँपालिका–४ अन्तर्गत चन्द्रनिगापुर–गौर सडकखण्डमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन्। दुर्घटनामा स्थानीय विजय साहको होटल पनि क्षतिग्रस्त भएको छ।
प्रहरी अनुसार बडहर्वातर्फबाट तीव्र गतिमा आउँदै गरेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियोले चन्द्रनिगापुरबाट गौरतर्फ जाँदै गरेको विआर–०७–पिए–७५८४ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको थियो। ठक्करपछि सडक किनारमा रोकी राखिएको ना.२ ह–६५२५ नम्बरको अटोमा समेत असर पुगेको थियो।
घाइतेहरुमा बारा आदर्श कोतवाल–७ का वर्ष ३० का पवन यादव, सर्लाही बरहथवा–१४ का वर्ष ११ का अंकित महतो, स्कार्पियो चालक गौर–२ का २४ वर्षीय सुरेन्द्र कुमार साह, राजदेवी–८ का वर्ष ५० का शिवजी साह, मुनामाई–५ का ३९ वर्षका मंगल पटेल र राजपुर–३ का वर्ष १० का तारिक वस्ता रहेका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गति र लेन अनुशासन नमान्नु दुर्घटनाको मुख्य कारण हो। दुर्घटनापछि केहीबेर अवरुद्ध भएको सडक अहिले सुचारु भएको छ।