जनकपुर । धनुषामा एक युवकको खुकुरी प्रहार गरी हत्या गरिएको छ ।
जिल्लाको औरही गाउँपालिका वडा नम्बर–६ मा धारिलो हतियार प्रहारबाट हंसपुर नगरपालिका–९ निवासी सुमित मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रमुख रुग्म कुँवरका अनुसार बिहीबार अपराह्न करिब ४ बजेतिर घटनाबारे सूचना प्राप्त भएको थियो । त्यसपछि घटनास्थलमा खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक मण्डलको एक युवतीसँग प्रेम सम्बन्ध रहेको देखिएको छ । सोही विषयका कारण घटना भएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । यद्यपि घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले स्पष्ट पारेको छ ।
मण्डलको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । घटनाको विस्तृत विवरण छिट्टै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।