सिराहामा बस–मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर

सिराहा । सिराहामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने एक किशोर गम्भीर घाइते भएका छन्।

जिल्लाको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा धनगढीमाई नगरपालिका–८ कसहाका ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। दुर्घटनामा परी स्थानीय १७ वर्षीय धिरज मण्डल गम्भीर घाइते भएका छन्।

गोलबजारबाट पूर्वतर्फ जाँदै गरेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस एकआपसमा ठोक्किँदा उनीहरू घाइते भएका थिए। घाइते तीनै जनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएकोमा महतो र रायको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुधन केसीले जानकारी दिए। तीनै जना एउटै मोटरसाइकलमा सवार थिए।

गम्भीर घाइते मण्डलको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ। मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रदेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस र चालकलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

सम्बन्धित समाचार

सबै