कर्तव्यमै खटिएका कर्मचारीको निधनमा बरहथवामा शोक बिदा घोषणा

बरहथवा । बरहथवा नगरपालिकाले कर्तव्यपालनाको क्रममा एक राष्ट्रसेवक कर्मचारीको निधन भएपछि फागुन १५ गते सोमबार एक दिन शोक विदा घोषणा गरेको छ।

नगरपालिकाको वडा नम्बर १ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत ४२ वर्षीय राष्ट्रसेवक श्री रघुनाथ महतोको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले यो निर्णय गरेको हो ।

नगरपालिकाले जारी गरेको सूचना अनुसार, बरहथवा नगरपालिका वडा नं। १ स्थित आधारभूत स्वास्थ्य केन्द्र, हजरियामा कार्यरत वरिष्ठ सहायक स्वास्थ्य कार्यकर्ता अहेव तथा छैठौं तहका अधिकृत श्री रघुनाथ महतोको ४२ वर्षको उमेरमा निधन भएको हो। उनी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को लागि सर्लाही जिल्ला, निर्वाचन क्षेत्र नं २, पर्सा गाउँपालिका अन्तर्गतको मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारीमा खटिएका थिए।

नगरपालिकाले जनाएअनुसार फागुन ११ गते मंगलबार दिउँसो करिब १२ बजे कर्तव्य पालना गरिरहेकै अवस्थामा उनको असामयिक निधन भएको थियो। महतोको निधनले नगरपालिका परिवार स्तब्ध भएको र यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

मृतक राष्ट्रसेवक कर्मचारी महतोप्रति भावपूर्ण श्रद्धाञ्जली स्वरूप फागुन १५ गते सोमबारका दिन बरहथवा नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य चौकी र केन्द्रहरू, सम्पूर्ण शिक्षण संस्थाहरू तथा नगरपालिका मातहतका अन्य कार्यालयहरू बन्द रहनेछन्।

नगर प्रमुख कल्पना कुमारी कटुवालले जारी गरेको सूचनामा सबै सरोकारवाला निकायहरूलाई उक्त अनुरोधको पालना गर्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार

सबै