सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका वडा नम्बर १०, चमेलीमाई पछाडि रहेको एक फन पार्कमा गत फागुन २३ गते एक व्यक्तिलाई नांगो बनाई अमानवीय ढंगले कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घटना फागुन २३ गते अपराह्न करिब ४ बजेको हो । चक्रघट्टा गाउँपालिका–९ बस्ने १९ को प्रमित कुमार यादवमाथि एउटा समूहले नांगै बनाएर निर्घात कुटपिट गरेको थियो ।
घटनापछि फागुन २९ गते राजेन कुमार यादवले रोहित कुमार यादवसमेतविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार र कुटपिट अंगभंग मुद्दामा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।
यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
जाहेरी परेको सोही दिन अर्थात् फागुन २९ गते प्रतिवादीमध्ये रोहित कुमार यादवलाई प्रहरीले पक्राउ गर्न सफल भयो । पक्राउ परेका रोहितलाई जिल्ला अदालतबाट फागुन २९ गतेदेखि लागु हुने गरी ५ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको भने खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत तथ्यहरू पछि जानकारी गराइने सर्लाही प्रहरीले जनाएको छ ।