रौतहट: रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर हराएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ।
सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्तीका करिब ४० वर्षीय कामी सिंह स्याङतान चैत ७ गते बिहान करिब साढे १० बजेतिर नदीमा माछा मार्दै गर्दा डुबेर बेपत्ता भएका थिए।
घटनाबारे उनका भतिजा कान्छा लामाले प्रहरीलाई खबर गरेपछि पौराई प्रहरी चौकीबाट टोली खटिएर खोजी सुरु गरिएको थियो।
खोजी कार्यलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट डीएसपी रुपा लाबुङको नेतृत्वमा टोली परिचालन गरिएको थियो। यसका साथै चपुरस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल सन्तपुर क्याम्प र इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीबाट समेत संयुक्त रूपमा खोजतलास अभियान सञ्चालन गरिएको थियो।
चैत ८ र ९ गते निरन्तर डुंगा प्रयोग गरी नदीमा व्यापक खोजी गरिए पनि उनी फेला परेका थिएनन्। अन्ततः चैत १० गते बिहान करिब साढे ७ बजेतिर नुनथरको झोलुङ्गे पुलबाट करिब १०० मिटर उत्तरतर्फ नदीमा उनको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
शव फेला परेपछि संयुक्त सुरक्षा टोलीले डुंगाको सहायताले बाहिर निकाली चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।