लालबन्दी । मधेस प्रदेशको मिथिला क्षेत्रमा श्रद्धा र निष्ठाका साथ मनाइने वसन्तकालीन ‘चैती छठ’ पर्व आज बिहान सम्पन्न भएको छ। चार दिनसम्म चल्ने यस सूर्य उपासनाको पर्वको अन्तिम दिन आज व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको चैती छठ विधिवत् रूपमा समापन भएको हो।
आज सप्तमीको बिहान मिथिलाका विभिन्न नदी, पोखरी र जलाशयमा भेला भएका व्रतालुहरूले कम्मरसम्मको पानीमा उभिएर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। अघिल्लो दिन निराहार व्रत बसेका व्रतालुहरूले हिजो षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिँदै ‘सझिया अरख’ विधि सम्पन्न गरेका थिए।
मिथिलामा ‘वासन्ती छठ’ वा बोलीचालीको भाषामा ‘चैती छठ’ भनिने यो पर्व चैत शुक्ल चौथीदेखि सुरु भएर सप्तमीसम्म मनाइन्छ। कात्तिकमा मनाइने छठको तुलनामा चैती छठ मनाउनेहरूको सङ्ख्या केही कम भए पनि यसको धार्मिक महत्व र विधि भने समान रहेको छ।
शरद् र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको विशेष पर्व हो। शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधि र निष्ठाका साथ यो पर्व मनाउने परम्परा छ।
अहिंसा, स्वच्छता र सद्भावको प्रतीक मानिने यो पर्वमा बाँसका सामग्री, ठकुवा, भुसवा र फलफूलको प्रसाद चढाउने गरिन्छ। चैती छठ सम्पन्न भएसँगै मिथिला क्षेत्रमा उल्लास छाएको छ र व्रतालुहरूले आज बिहानको अर्घ्यपछि आफ्नो व्रत समापन (पारन) गरेका छन्।