सर्लाही । सर्लाहीमा एक महिलालाई अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको बसबरिया गाउँपालिका–३ का शिवचरण मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मुखियाले चिनजान तथा नातासम्बन्धका आधारमा महिलालाई विश्वासमा पारी ह्वाट्सएपमार्फत पटक–पटक भिडियो कुराकानी गरेका थिए ।
सो क्रममा उनले महिलालाई विभिन्न दबाब तथा धम्की दिई शरीरको लुगा हटाउन बाध्य बनाएको र त्यसको भिडियो रेकर्ड गरेको प्रहरीको भनाइ छ । उक्त भिडियो तथा कुराकानीको रेकर्ड आफ्नो मोबाइलमा सुरक्षित राखी महिलालाई तथा उनका आफन्तलाई पठाएको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।
जाहेरीअनुसार मुखियाले उक्त तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने र पीडितका परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिँदै ५० हजार रुपैयाँसमेत माग गरेको आरोप छ ।
प्रहरीका अनुसार मुखियालाई सर्लाही जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐनअन्तर्गतको साइबर अपराधमा सात दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले निजी तथा अश्लील तस्बिर वा भिडियो प्राप्त भएमा त्यसलाई सामाजिक सञ्जालमा शेयर, फर्वार्ड वा सार्वजनिक नगर्न आग्रह गरेको छ । त्यस्ता सामग्री तथा धम्कीसँग सम्बन्धित च्याट, रेकर्डलगायत प्रमाण सुरक्षित राखी तत्काल प्रहरीलाई जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ।