रौतहट । नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको असामयिक निधन भएको छ। साहको गएराति हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

साहको निधनले रौतहट कांग्रेस र स्थानीय समुदायमा शोक छाएको छ। उनको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य देबप्रसाद तिमल्सिनाले साहको निधनले आफूलाई अत्यन्त मर्माहत तुल्याएको बताए। तिमल्सिनाले भने, “साहको निधनले पार्टीले एक निष्ठावान योद्धा गुमाएको छ, यो क्षति कहिल्यै पूरा हुन सक्दैन।”

यसैगरी नेपाली कांग्रेस रौतहटले पनि एक विज्ञप्ति जारी गर्दै साहको निधनले पार्टी संगठनलाई अपुरणीय क्षति पुगेको जनाएको छ। स्वर्गीय साह पार्टीभित्र एक सक्रिय र जुझारु नेताका रूपमा परिचित थिए।

उनको पार्थिव शरीरलाई आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।