धनुषा । धनुषाको धनुषाधाम नगरपालिका–६ स्थित मालटोलमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा माछा बोकेको पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००४ प १८९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०२–००१ च १६४७ नम्बरको महिन्द्रा पिकअपले ठक्कर दिएको थियो।

दुर्घटनामा क्षीरेश्वरनाथ नगरपालिका–६, कुचाइटोल बस्ने ५५ वर्षीय समीम खानको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए। दुर्घटनालगत्तै गम्भीर घाइते भएका खानलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका अर्का एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।