महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकास्थित रातु खोलाबाट अवैध रूपमा बालुवा र ग्राभेल उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एउटा टिपरलाई नियन्त्रणमा लिएको छ।
भंगाहा नगरपालिका वडा नं. ४ स्थित रातु खोलामा अवैध रूपमा बालुवा-ग्राभेल उत्खनन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरी टोलीले उक्त टिपर नियन्त्रणमा लिएको हो।
अवैध उत्खनन गरी बालुवा-ग्राभेल लोड गरेर लैजाँदै गरेको अवस्थामा प्र.०२-००१ क ०६३३ नम्बरको टिपरलाई प्रहरीले फेला पारेको थियो। नियन्त्रणमा लिइएको उक्त टिपरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भंगाहा नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
खोलाजन्य पदार्थको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको भन्दै यस कार्यमा संलग्नहरूमाथि कडा कारबाही हुने चेतावनी समेत दिइएको छ।