ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित सर्लाही हेल्थकेयर नजिकैको गल्लीमा नाला फुटेर दूषित ढल सडकभरि बगिरहेको छ।
यसबाट सडक फोहोर हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ। तर, यसको सरसफाइ र मर्मतको जिम्मा कसले लिने भन्ने विषयमा स्थानीय र जनप्रतिनिधिबीच दोषारोपण चल्दा समस्या समाधान हुन सकेको छैन।

शुक्रबार दिउँसो सर्लाही न्युज संवाददाता उक्त स्थानमा पुग्दा सडक दूषित पानीले भरिएको र निकै फोहोर भएको पाएका थिए। नालाको पानी सडकमा बगिरहँदा सवारी तथा पैदलयात्रीलाई आवतजावतमा कठिनाइ भएको र दुर्घटनाको जोखिम पनि बढेको देखिएको छ, विशेषगरी ससाना बालबालिकाका लागि।
वडाध्यक्षको आरोप स्थानीयको अटेरीले समस्या
वडा नम्बर ६ का वडाध्यक्ष महम्मद रहमन अन्सारीले स्थानीयको अटेरीका कारण यस्तो समस्या आएको बताएका छन्। उनले आफूले पटकपटक नाला छेउमै घर भएका मुकेश साहलाई नाला जाम भएको र सानो तीन-चार इन्चको पाइप काटेर आफैँले पानी लैजान भने पनि उनले नटेरेको आरोप लगाए।

स्थानीयले गुनासो गरिरहेको र जोखिम बढेको भन्ने सर्लाही न्युजको प्रश्नमा वडाध्यक्षले भने,’जनप्रतिनिधि भन्नेबित्तिकै सबै जिम्मा उसकै हुन्छ भन्ने समाजमा मानिसको सोच गलत हो। समाजमा राम्रो काम गर्न सबैले आफैँले नेतृत्व लिनुपर्छ, कसरी राम्रो काम हुन्छ त्यो सोच राख्नुपर्यो।’ उनले आफू अहिले समस्या भएको स्थानमा जान तयार रहेको र जसको समस्या हो उसलाई लिएर मात्र जाने आफ्नो भनाइ थियो। आफ्नो घर पनि सोही टोलमा रहेको भन्दै उनले आफ्नो घरअगाडि आफैँले सफा गर्नुपर्ने बताए।
स्थानीयको गुनासो जनप्रतिनिधिले वास्तै गर्दैनन्
अर्का स्थानीय मनोहर साहले भने नाला फुटेर आफ्नो घरअगाडि फोहोर भएको र पटकपटक स्थानीय तह गुहार्दा पनि काम नभएको गुनासो गरे। उनले आफ्नो घर अगाडि आफैँले सफा गर्नुपर्ने थाहा भए पनि पछि ‘नगरपालिकाले किन यसो गरिस्’ भन्ने डरले केही नगरेको सर्लाही न्युजसँग बताए।
मनोहरका अनुसार ‘सामान्य काम हो भन्ने हामीलाई पनि थाहा छ, तर स्थानीय जनताले यति काम गर्दिनु न भन्दा जनप्रतिनिधिले वास्तै गर्दैनन्। उनले वडाले पाइप किनेर दिए आफूले ढल मर्मतको काम गर्ने बताए।

मनोहर साहले प्रश्न गरे, ‘नाला फुटाएर अन्त लैजानै भए नाला बनाको किन ? उनले प्रशासकीय अधिकृतलाई समस्याबारे जानकारी गराउँदा गैरजिम्मेवार उत्तर पाएको पनि बताए। ‘प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर भनेको थिएँ। भोलि तपाईंहरूको खाना पकाउन पनि नगरपालिकामै भन्नु भनेर उहाँले भन्नुभयो,’ उनले सुनाए। कम्तीमा टोलसुधार समितिलाई नाला सफा गर्न भनिदिएको भए पनि हुने उनको भनाइ थियो।
यसरी सरसफाइको सामान्य विषयमा समेत जनप्रतिनिधि र स्थानीयबीच अपनत्व लिने र जिम्मेवारी वहन गर्ने विषयमा विवाद हुँदा दूषित पानीले सडक दूषित बनेको छ भने दुर्घटनाको जोखिम दिनदिनै बढ्दो छ।
