सर्लाही जिल्लाका खेल मैदानको अवस्था देखेर सांसद कार्की आक्रोशित

सर्लाही । सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद नितिमा कार्कीले जिल्लाको खेलकुद क्षेत्रको दयनीय अवस्था र विकास निर्माणमा देखिएको अव्यवस्थित प्राथमिकताप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

उनले मंगलबार राति आफ्नो फेसबुक स्टाटसमार्फत हरिपुरस्थित बाल्यकालको खेल मैदानको दुर्दशा र जनमुखी योजनाहरूको उपेक्षाबारे आवाज उठाएकी हुन् । मंगलबार दिनभरि हरिपुर, ईश्वरपुर र लालबन्दीका विभिन्न क्षेत्रको अवलोकनपश्चात सांसद कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव र भावना सार्वजनिक गरेकी हुन् ।

सांसद कार्कीले हरिपुरस्थित बाल्यकालमा आफूले खेलेको खेल मैदान आज सानो पार्कजस्तो सीमित भएको देख्दा मन निकै अमिलो भएको बताएकी छन् । कुनै समय राष्ट्रियस्तरका खेलकुद आयोजना हुने सो मैदान आज फुटबल खेल्न समेत नमिल्ने गरी साँघुरो र सीमित भइसकेकोमा उनले दुःख व्यक्त गरिन् ।

यस्तो अवस्थामा हरिपुरमा रग्बीका लागि नयाँ खेल मैदान बनाउने तयारी भइरहेको सुन्दा यसलाई उनले ‘बेढंगको प्राथमिकता’ भनेकी छन्। ‘हाम्रो क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने क्षेत्र भए पनि आज खेल मैदानकै अभाव देख्दा दुःख लाग्यो’ उनले फेसबुकमा लेखेकी छन् । उनले खेल क्षेत्रको विकासमा स्थानीय सरकार र सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिएकी छन् ।

खेलकुद क्षेत्रको समस्यासँगै सांसद कार्कीले जनमुखी विकासका योजनाहरूमा देखिएको लापरवाहीप्रति पनि प्रश्न उठाएकी छन् । उनका अनुसार जनताको खानेपानीको ट्यांकी अधुरो रहेको, तर नयाँ भवनको योजना बनिरहेको छ । जनमुखी योजनाहरू अलपत्र पारिएको, तर मन्दिर निर्माण र गोष्ठी आयोजनामा भने पैसा खुलेआम बाँडिएको उनले आरोप लगाएकी छन् ।

सांसद कार्कीले जनप्रतिनिधिहरूलाई भोट हालेर जिताउने मात्र नभई उनीहरूलाई जनताप्रति जवाफदेही बनाउनु पनि उत्तिकै जरुरी रहेको औंल्याएकी छन् । उनले जनप्रतिनिधिहरूले अब जनतासँग मात्र समन्वय गरेर योजना बनाउनुपर्नेमा जोड दिँदै आफ्नो फेसबुक स्टाटसमा भनेकी छन्, ‘अब योजना जनतासँग मात्र समन्वय गरेर बनाऔं, हाम्रा जनप्रतिनिधिज्यूहरू।’

केही दिनअघि उनले प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रयोगमा नआएको सार्वजनिक भवनबारे प्रश्न उठाएकी थिइन्, जसको निकै प्रशंसा भइरहेको छ ।

सम्बन्धित समाचार

सबै