बसका यात्रुको पैसा चोरेर जुत्तामा लुकाउने तामाङ पक्राउ

रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बसमा सवार यात्रुको पैसा चोरी गरी भाग्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय अभिषेक तामाङ रहेका छन्।

शुक्रबार बिहान १० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसमा सवार यात्रु तारादेवी राईको झोलाबाट पर्स झिकेर तामाङ फरार भएका थिए। बसबाट ओर्लिएर ई-रिक्सामा चढी भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी सहायक निरीक्षक मेरुलालप्रसाद गुप्ताको कमाण्डमा खटिएको टोलीले उनलाई लखेटेर नियन्त्रणमा लिएको हो।

पक्राउ परेपछि तामाङले सुरुमा आफूले चोरी नगरेको भन्दै उल्टै पीडित यात्रुलाई गालीगलौज गरेका थिए। तर, प्रहरीले शंका लागेर उनको खानतलासी गर्दा जुत्ताभित्र लुकाएको अवस्थामा चोरी गरिएको रकम बरामद भएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका तामाङमाथि जिल्ला अदालत रौतहटबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

सम्बन्धित समाचार

सबै