रौतहटमा लाखौँको भन्सार छलीको सामानसहित लालबन्दीका चालक पक्राउ

रौतहट । रौतहट प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएका लाखौँ मूल्य बराबरका सामान, सवारी साधन र एक जना चालकलाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले मौलापुर नगरपालिका–३ बाट अवैध सामग्रीसहितको पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको हो।

भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको २९ सय किलोग्राम तोरी र ३ सय ५० किलोग्राम सरसो लोड गरिएको ज. १ च. १३४३ नम्बरको पिकअप गाडी प्रहरीले बरामद गरेको हो। उक्त कार्यमा संलग्न रहेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका–७ का २५ वर्षीय चालक पवन साहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालका अनुसार बरामद गरिएको तोरी र सरसोको बजार मूल्य करिब ३ लाख ९० हजार रुपैयाँ र पिकअप गाडीको मूल्य २० लाख रुपैयाँ कायम गरिएको छ।

यसैगरी, प्रहरीले अर्को एउटा कारबाहीका क्रममा भारतबाट दुईवटा जर्किनमा भरी भन्सार छली ल्याउँदै गरेको १० हजार ५ सय ३० रुपैयाँ बराबरको डिजल र ५० हजार रुपैयाँ बराबरको बीआर ०५ एल ४५६० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेका चालक, बरामद गरिएका सामान र सवारी साधन गरी कुल २४ लाख ५० हजार ५ सय ३० रुपैयाँ बराबरको अवैध सामग्रीलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको डीएसपी बस्यालले जानकारी दिए ।

रौतहट प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा सक्रियता बढाएको छ ।

सम्बन्धित समाचार

सबै