वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा सर्लाहीका एकसहित दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रौतहट राजपुर नगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने २४ वर्षीय दिपक कुमार जयसवाल र सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं बस्ने ३५ वर्षीय मोहन कुमार थापा रहेका छन्।

प्रहरीका अनुसार दिपक कुमार जयसवालले एक जना पीडितलाई बेलायत पठाइदिने प्रलोभन देखाएर १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। त्यसैगरी, मोहन कुमार थापाले दुई जना पीडितलाई बुल्गेरिया पठाइदिने भन्दै १६ लाख रुपैयाँ ठगी गरेको अभियोग छ।

पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जयसवाललाई काठमाडौंको नागार्जुन नगरपालिका-८ बाट सोमबार र थापालाई काठमाडौं महानगरपालिका-६ बाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ। पछिल्लो समय वैदेशिक रोजगारीका नाममा आकर्षक देश पठाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय देखिएकाले प्रहरीले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै