रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक दलित महिलामाथि बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र खुवाइएको अमानवीय घटना सार्वजनिक भएको छ । पीडित महिला कटहरिया नगरपालिका–९ की ५५ वर्षीया अंकलियादेवी मुसहरनी हुन्, जो स्थानीय पूर्व वडा सदस्य समेत हुन् ।
पीडित परिवारका अनुसार घटनाको बीउ छिमेकी पुकार माझीको घरमा भएको विवाह कार्यक्रमबाट सुरु भएको थियो । विवाहमा पर्सा जिल्लाबाट आएको जन्ती पक्षका एक १० वर्षीय बालक अचानक बिरामी परेर बान्ता गरेपछि स्थानीय केही व्यक्तिले अंकलियादेवीले ‘जादूटुना’ गरेको आरोप लगाएका थिए ।
सोही विषयलाई लिएर शनिबार साँझ १५ देखि २० जनाको समूह अंकलियादेवीको घरमा पुगेको थियो । समूहले उनलाई नियन्त्रणमा लिएर बियरको बोतलमा घोलेर ल्याइएको मानव मलमूत्र जबरजस्ती खुवाएको पीडितकी छोरी सुमिला देवीले बताइन् । घटनाको विरोध गर्दा परिवारका अन्य सदस्यहरूमाथि समेत कुटपिट गरिएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको टोलीले पीडित महिलाको उद्धार गरेको थियो । प्रहरी पुग्दा उनी अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरले घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिए ।
यता, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएका छन् । उनले भने, “यो अत्यन्तै अमानवीय र जघन्य अपराध हो । घटनामा संलग्न जोकोहीलाई पनि कानुनको दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गरिनेछ ।”
समाजमा अझै पनि व्याप्त यस्ता कुप्रथा र अन्धविश्वासका कारण निर्दोष महिलाहरू पीडित हुनुले स्थानीय प्रशासन र समाजको सचेतना स्तरमाथि प्रश्न उठाएको छ ।