मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका–८ हनुमान टोलस्थित एक घरमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा बालकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार २०८३ साल वैशाख २१ गते राति करिब २:५२ बजे स्थानीय राजीव शर्माको घरबाट विभिन्न किसिमका सुनचाँदीका गरगहना तथा अन्य सामग्री चोरी भएको सूचना प्राप्त भएपछि तत्काल अनुसन्धान सुरु गरिएको थियो।
घटनास्थलको सूक्ष्म अवलोकन तथा प्रविधिको प्रयोग गरी अनुसन्धान अघि बढाउँदै जाँदा उक्त चोरीमा कानुनको विवादमा परेका तीन जना बालकहरूको संलग्नता खुलेको प्रहरीले जनाएको छ। उनीहरूको खोजतलासका क्रममा वैशाख २२ गते ती बालकहरूलाई नियन्त्रणमा लिइएको थियो। साथै, घटनामा संलग्न अन्य दुई वयस्क महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूको घरमा खानतलासी गर्दा चोरी भएका विभिन्न गरगहना तथा सामग्रीहरू बरामद गरेको छ। बरामद सामानमा सुनका औँठी, मंगलसूत्र, तिलहरी, कानका टप, चाँदीका बाला, पाउजु, बिछिया लगायतका बहुमूल्य गरगहना रहेका छन्। यसका अतिरिक्त लेडिज पर्स, किप्याड मोबाइल, चेकबुक, घडी, चश्मा र मोती समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकामध्ये तीन जना ११, १४ र १५ वर्ष उमेरका बालक रहेका छन् भने अन्य दुई जना ३५ र ४० वर्ष उमेरका महिला रहेका छन्। उनीहरूलाई सर्लाही जिल्ला अदालत मलंगवाबाट चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ भने बरामद गरिएका सामग्री सम्बन्धित धनीलाई बुझाउने प्रक्रिया पनि अगाडि बढाइनेछ।