बरहथवा । बरहथवा नगरपालिकाले संस्थागत विद्यालयहरूलाई पाठ्यपुस्तक प्रयोगसम्बन्धी कडाइ गर्न निर्देशन दिएको छ ।
गर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमार्फत विद्यालयहरूले नेपाल सरकारबाट स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्ने र तोकिएकोभन्दा बढी पुस्तक प्रयोग नगर्न सचेत गराइएको हो ।
नगरपालिकाले बिहीबार जारी गरेको एक सूचनाअनुसार केही विद्यालयले स्पष्ट आधारबिना बारम्बार पाठ्यपुस्तक परिवर्तन गर्ने, अत्यधिक मूल्य भएका प्रकाशनका पुस्तक लागु गर्ने तथा साना कक्षाका बालबालिकालाई समेत आवश्यकभन्दा बढी पाठ्यपुस्तक र अभ्यास पुस्तिका बोक्न बाध्य पार्ने गुनासो आएको थियो ।
यसले अभिभावकमा आर्थिक भार बढ्नुका साथै बालबालिकाको शारीरिक तथा मानसिक विकासमा समेत नकारात्मक असर परेको निष्कर्ष निकालिएको छ । पत्रमा शिक्षा विकास तथा समन्वय इकाई मलंगवाबाट प्राप्त निर्देशनको आधारमा यस्तो निर्णय गरिएको उल्लेख छ ।
अबदेखि सबै संस्थागत विद्यालयहरूले सरकारी स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्ने र अनावश्यक रूपमा थप पुस्तक प्रयोग नगर्नुपर्ने स्पष्ट गरिएको छ ।
नगरपालिकाले निर्देशन अवज्ञा गर्ने विद्यालयमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ। यस निर्णयले अभिभावकको आर्थिक बोझ कम हुनुका साथै विद्यार्थीमैत्री शिक्षण वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।