हरिवनस्थित एक घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी, सबै सामान जलेर नष्ट

हरिवन । सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी टोलमा शुक्रबार बिहान ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मिति २०८३ वैशाख २५ गते बिहान करिब ९:०० बजे दिवश बम्जनको काठले बनेको दुईतले घरको भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भई आगलागी भएको हो ।

घटनाबारे ९:१५ बजे प्रहरीलाई जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा १० जनाको टोली खटिएको थियो ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस हरिवनबाट सशस्त्र प्रहरी नायब निरीक्षक मनोज प्रसाद कुशवाहाको कमाण्डमा ७ जना तथा कालीध्वज गण पाँचकुमारी ब्यारेक लालबन्दीबाट उप–सेनानी रेशम शर्मा घिमिरेको नेतृत्वमा दमकलसहित ११ जनाको संयुक्त टोली घटनास्थल पुगेको थियो ।

प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, दमकल र स्थानीयवासीको सहयोगमा करिब ९:४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाडाकुँडा, गरगहना तथा फर्निचरलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ। क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय हरिवनबाट करिब ५ किलोमिटर उत्तरमा पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

सबै