हरिवन । हरिवन नगरपालिकामा शुक्रबार बिहान ९ बजे विभिन्न नगरपालिकाका प्रमुखहरूले समसामयिक विषयमा छलफल तथा निर्णय गरेका छन् ।
हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकमा ईश्वरपुर, बरहथवा, लालबन्दी, हरिपुर तथा बागमती नगरपालिकाका प्रमुखहरू सहभागी थिए ।
बैठकमा शिक्षा संस्था सञ्चालन, स्वास्थ्य संस्था सञ्चालन तथा सरकारी एवं सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी विषयमा विशेष छलफल गरिएको थियो ।
छलफलपछि शिक्षा क्षेत्रतर्फ विद्यालयमा गुणस्तर कायम राख्दै पठनपाठन नियमित गर्न सार्वजनिक बिदा सम्बन्धी व्यवस्थामा पुनर्विचार गर्नुपर्ने निष्कर्ष निकालिएको छ । यसका लागि नेपाल सरकार तथा प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, स्वास्थ्य संस्थाको हकमा सार्वजनिक बिदाका कारण सेवा प्रवाहमा असर परेको भन्दै अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन हुने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य सेवा प्रभावकारी बनाउन बिदा व्यवस्थापनमा सुधार गर्न सरकारसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै, सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणको विषयमा हालै जारी १०० बुँदे सुधार कार्यसूचीअनुसार भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पहिचान गरी उचित व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अघि बढाउन नेपाल सरकारसँग आग्रह गर्ने निर्णय गरिएको छ ।
बैठकले यी विषयमा प्रदेश सरकारसँग समेत सहकार्य गर्दै आवश्यक पहल अगाडि बढाउने निष्कर्ष निकालेको छ ।