अब लालबन्दी नगरपालिकाबाटै नापीको काम हुने

लालबन्दी । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभर भूमि प्रशासन सम्बन्धी सेवा विस्तार गर्ने उद्देश्यसहित पहिलो चरणमा १८ वटा स्थानीय तह छनोट गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको नापी तथा अभिलेख शाखाबाट जारी पत्रअनुसार सेवाग्राहीलाई सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने लक्ष्यसहित उक्त निर्णय गरिएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार स्थानीय तहहरूमा भूमि प्रशासन सम्बन्धी सेवा प्रवाह गर्न आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनको तयारी भइरहेको छ । प्रारम्भिक चरणमा कोशी र मधेश प्रदेशका विभिन्न नगर तथा गाउँपालिकालाई समेटिएको छ । यसमा सर्लाहीको लालबन्दी नगरपालिका पनि समावेश छ ।

मधेश प्रदेशबाट औरही, महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तहहरू पनि छनोटमा परेका छन् । मन्त्रालयका अनुसार पहिलो चरणको कार्यान्वयन सफल भएपछि अन्य स्थानीय तहमा समेत सेवा विस्तार गरिनेछ।

स्थानीय स्तरमै जग्गा प्रशासन सम्बन्धी सेवा उपलब्ध गराउँदा सेवाग्राहीलाई जिल्ला तथा केन्द्र धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ । यसले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले डिजिटल प्रविधि र स्थानीय संरचनाको उपयोग गर्दै भूमि प्रशासनलाई विकेन्द्रीकरण गर्ने रणनीति अनुसार यो कदम चालिएको हो।

सम्बन्धित समाचार

सबै