सप्तरीमा भीषण आगलागी: १२ घर जलेर नष्ट

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६, वभनगामा टोलमा गएराति भीषण आगलागी हुँदा ६ परिवारको १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको ‘घुर’ (आगो) बाट सल्केको आगो अनियन्त्रित भई फैलिँदा ठूलो क्षति भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगलागीबाट रामअवतार यादवका दुई घर र एक गोठ, जुगाइ यादवका दुई घर र एक गोठ, अनिल यादवका दुई घर र एक गोठ तथा योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवको एक–एक वटा घर जलेर खरानी भएका छन्।

यस घटनामा खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगद गरी करिब ४५ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीय रामनाथ यादवका अनुसार मध्यरातमा फैलिएको आगोले बस्तीका धेरै संरचनाहरूलाई आफ्नो चपेटामा लिएको थियो। हनुमाननगर कङ्कालिनी नगरपालिका र मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र (दमकल) तथा स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट पीडित परिवारहरू अहिले विचल्लीमा परेका छन्। प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै