लहान । विभिन्न कारोबारसम्बन्धी मुद्दा मिलाइदिने भन्दै रकम लिएको आरोपमा सिरहा गोलबजार नगरपालिका–६ निवासी तथा पोल्ट्री दाना व्यापारी राकेश साह ठगी आरोपमा पक्राउ परेका छन् ।
सर्वसाधारणबाट रकम असुल गर्ने गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले उनलाई बुधबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार मुद्दा मिलाइदिन्छु भन्दै राकेशले स्थानीय अजय साहसँग पटक–पटक रकम मागेका थिए । एसपी र न्यायाधीशलाई दिनुपर्छ भन्दै कुल ६ लाख रुपैयाँ लिएको राकेशमाथि आरोप छ।
प्रारम्भिक अनुसन्धानमा विगतमा पनि प्रहरी प्रशासन र न्यायाधीशको नाम प्रयोग गर्दै विभिन्न मुद्दा मिलाइदिने बहानामा सर्वसाधारणबाट रकम असुल गर्दै आएको खुलेको छ ।
केही महिनाअघि बलात्कार मुद्दा मिलाइदिने भन्दै रकम लिएर काम नगरेपछि रकम फिर्ता नदिएको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो ।