काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३, थानकोट खरिबोटमा घरायसी विवादका क्रममा एक युवकको हत्या भएको छ।
महोत्तरी घर भई हाल थानकोट बस्दै आएका ३८ वर्षीय समी अहमदले आफ्नै सालो नाता पर्ने २५ वर्षीय जाकिर मन्सुरीको चक्कु प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार घरायसी विवाद बढ्दै जाँदा अहमदले तरकारी काट्ने चक्कु प्रहार गर्दा मन्सुरी गम्भीर घाइते भएका थिए।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीलाई तत्काल उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा गएराति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।