वन अतिक्रमण गरी बनाइएका संरचना हटाउने विषयमा विवाद: बर्दिवासमा राजमार्ग अवरुद्ध

महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने प्रक्रिया अगाडि बढाएपछि आज बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

अतिक्रमित जग्गामा आवासीय तथा व्यापारिक प्रयोजनका लागि बनाइएका घरटहरा भत्काउन डोजर र व्यापक सुरक्षाकर्मी परिचालन गरिएपछि स्थानीयवासी आन्दोलित बनेका थिए। आन्दोलनकारीले टायर बालेर सडक अवरुद्ध गरेपछि यातायात सेवा प्रभावित बनेको थियो।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बिहान साढे ८ बजे सुरु भएको उक्त अवरोध करिब डेढ घण्टापछि वार्तापछि मात्र खुलेको छ। बर्दिवास नगरपालिका–५ का वडाध्यक्ष कारमान स्याङ्गवासँग भएको सहमतिपछि तत्कालका लागि घरटहरा हटाउने कार्य स्थगित गरिएको हो। सहमतिअनुसार हुकुम्बासीहरूले आफैँ घर खाली गराउने प्रतिबद्धता जनाएपछि आजको प्रक्रिया रोकिएको छ।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रले अतिक्रमित संरचना हटाउन पटक–पटक सूचना जारी गरिएको जानकारी दिनुभयो। “हामीले यसअघि नै १५ दिने, सात दिने र तीन दिने सार्वजनिक सूचना जारी गरिसकेका थियौँ,” प्रमुख मिश्रले भन्नुभयो, “सुरुमा साना पसल र टहराका रूपमा सुरु भएका संरचनाहरू पछि अर्धपक्की घरका रूपमा विस्तार गरिएका छन्, जुन गैरकानुनी हो।”

प्राप्त जानकारीअनुसार गौशाला नगरपालिका–१ र बर्दिवास नगरपालिका–५ क्षेत्रमा पर्ने महेन्द्र राजमार्गको दायाँबायाँ करिब २० वटा यस्ता घरटहरा रहेका छन्। वन कार्यालयले सरकारी जग्गा संरक्षणका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ भने स्थानीयवासीले भने विकल्पको खोजीबिना हटाउन नहुने अडान राख्दै आएका छन्।

सहमतिपछि राजमार्ग सुचारु भए पनि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्बन्धित समाचार

सबै