महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–७ सरपल्लोमा खोलामा डुबेर तीन बालिकाको ज्यान गएको छ।
मृत्यु हुनेमा स्थानीय विरेन्द्र भण्डारीकी दुई छोरीहरू १३ वर्षीया स्नेहा भण्डारी र ६ वर्षीया शिवानी भण्डारी तथा अजीज नदाफकी छोरी अफ्साना खातुन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार विद्यालयबाट फर्किएपछि तीनै जना बालबालिका स्थानीय अंकुशी र जंघा खोलाको दोभानमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनीहरू गहिरो खाडलमा डुबेको स्थानीयको अनुमान छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार गरी तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याएको भए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
मृतक स्नेहा र अफ्साना सरपल्लोस्थित मुनिलाल माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत मिल्ने साथी थिए। परिवारका अनुसार विद्यालयबाट घर फर्किएपछि उनीहरू नुहाउन खोलातर्फ गएका थिए, सोही क्रममा स्नेहाकी बहिनी शिवानी पनि उनीहरूको पछि–पछि पुगेकी थिइन्।
मृतक स्नेहाकी हजुरआमा मरनी देवीले दिएको जानकारीअनुसार उनीहरूले खाजा खाएपछि खेल्न भनी घरबाट निस्किएका थिए।
तीनै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ। पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
एउटै गाउँका तीन बालबालिकाको एकैसाथ ज्यान गएपछि अहिले सिङ्गो सरपल्लो गाउँ शोकमा डुबेको छ।