नगरपालिकाको सम्झौताविपरीत कालिञ्जोर खोला उत्खनन

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगन्जस्थित कालिन्जोर खोलामा नगरपालिकासँग भएको सम्झौताविपरीत अन्धाधुन्ध उत्खनन गरिएको पाइएको छ ।

अनियन्त्रित उत्खनन भइरहेको भन्दै रानीगन्जका स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि लालबन्दी नगरपालिकाले बाध्य भएर प्राविधिक खटाई उत्खनन क्षेत्रको नापजाँच गरेको थियो ।

नापजाँचका क्रममा सम्झौताभन्दा १९ हजार ४२८।२४ घनमिटर बढी गिट्टी–बालुवा निकालिएको पाइएपछि ठेक्का लिने कम्पनीलाई जरिवाना तिराइएको छ ।

कालिन्जोर खोलाको उत्खनन ठेक्का लालबन्दी नगरपालिकाले लगाएको हो । सम्झौता उल्लङ्घन गरी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि उत्खनन कार्य बन्द गराएर ठेक्का लिएको कम्पनीलाई जरिवाना तिराइएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले बताए ।

कालिन्जोर खोलाका तीनवटा नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ मा नदीजन्य पदार्थ उत्खननका लागि कुण्डलिनी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, कमलामाई नगरपालिका–६, सिन्धुलीले एक करोड ८० लाख ८० हजार २२६ रुपियाँमा ठेक्का पाएको थियो । २०८२ पुस ९ गते नगरपालिका र उक्त कम्पनीबीच भएको सम्झौताअनुसारको परिमाण उत्खनन भइसकेकाले जेठ ४ गतेदेखि उत्खनन कार्य बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लुईटेलले बताए ।

यो वर्ष अब खोलामा थप उत्खनन नहुने उहाँको भनाइ छ । “अख्तियारमा उजुरी र हामीकहाँ पनि गुनासो आएपछि खोलाबाट उत्खनन गरिएको खाल्डो नाप्दा बढी नै निकालिएको पाइयो,” उपसचिव लुईटेलले भने, “त्यसैले ठेकेदारलाई जरिवाना तिराएर उत्खनन पनि बन्द गरिसकेका छौँ ।”

सम्झौताविपरीत उत्खनन गरेको पाइएपछि नगरपालिका कार्यालयले उक्त कम्पनीलाई ४४ लाख ४१ हजार ७५० रुपियाँ ६९ पैसा जरिवाना तिराएको लालबन्दी नगरपालिकाको राजस्व शाखाका प्रमुख गोपाल थापाले बताए। उनले भने, “ठेक्का पाएको कम्पनीलाई बढी निकालिएको नदीजन्य पदार्थसमेतको हिसाब गरी सम्झौता मिचिएको भन्दै जरिवाना तिराइसकेका छौँ ।”

जेठ मसान्तसम्म उत्खननको ठेक्का भए पनि नापजाँच गर्दा सम्झौताअनुसारको परिमाण निकालिसकेको पाइएपछि करिब एक महिनाअघि नै उत्खनन बन्द गरिएको छ । कालिन्जोर खोलामा उत्खनन बन्द गरिएकोबारे नगरपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय तथा सुरक्षा निकायलाई समेत पत्राचार गरेको छ ।

कालिन्जोर खोलामा मनपरी उत्खनन भइरहेको उजुरीपछि एक साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिकसहितको टोलीसमेत आएर निरीक्षण गरेर फर्किएको थियो । अख्तियारले चासो देखाएपछि नगरपालिका कार्यालयले आफ्ना प्राविधिक खटाएर उत्खनन क्षेत्रको नापजाँच गराएको थियो ।

आफूले ठेक्का लगाएपछि नगरपालिकाले बेलाबेलामा के–कति परिमाणमा उत्खनन भयो भन्नेबारे अनुगमन गर्नुपर्ने भए पनि अख्तियारमा उजुरी परेपछि मात्र चासो देखाएकाले मिलेमतोमै मनपरी उत्खनन भएको हुनसक्ने स्थानीयको आशङ्का छ ।

उत्खनन रोक्न निर्देशन दिएपछि पनि उत्खननमा संलग्न दुईवटा टिपर नियन्त्रणमा लिएर कारबाही गरिएको नगरपालिका कार्यालयको राजस्व शाखाले जनाएको छ । पालिकालगायत अन्य सरोकारवाला निकायबाट नियमित अनुगमन र नियमन नहुँदा जिल्लाका अधिकांश खोलामा मनपरी ढङ्गले उत्खनन हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।

कालिन्जोर खोलामा वातावरणीय प्रभाव मूल्याङ्कनको समेत ख्याल नगरी जथाभावी उत्खनन गर्दा महेन्द्र राजमार्गस्थित साहेबगन्ज चोकदेखि करिब एक किलोमिटर उत्तरतर्फ वन क्षेत्रमा कटान सुरु भइसकेको छ । रानीगन्जतर्फको बाँधका रूपमा रहेको गिट्टी–बालुवा जथाभावी निकालिएकाले आगामी बर्खामा बस्तीसमेत जोखिममा पर्ने त्रास सिर्जना भएको छ ।

केही साताअघि सांसद, सुरक्षा अधिकारीलगायतको टोली पुग्दा सर्लाहीको बरहथवा र रौतहटको गढीमाई तथा वृन्दावन नगरपालिकाको सीमा क्षेत्रमा पर्ने बागमती नदीमा पनि अनियन्त्रित उत्खनन भइरहेको पाइएको थियो । त्यसबेला अवैध रूपमा उत्खनन गरिरहेका टिपरको भागाभागसमेत मच्चिएको थियो । -गोरखापत्रबाट

सम्बन्धित समाचार

सबै