दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छु : उपसभामुख ठाकुर

चन्द्रनगर । उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताएकी छन् । 

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले यहाँ आज आयोजना गरेको बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेसबाट मात्र नभइ देशबाट उन्मूलन हुनुपर्ने बताइन् ।  छोरीलाई बोझ मान्ने लैङ्गिक विभेदका कारण बालविवाह हुने गरेको भन्दै उनले मधेसले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने उल्लेख गरिन्

‘छोरी जन्मने घरमा बोझ भित्रिएको भन्दै दुःख मान्नुहुन्न, माता सीताको जन्मभूमिमा छोरी जन्मनु त सौभाग्यको कुरा हो,’ उपसभामुख ठाकुरले भनिन् । बालविवाह र दाइजो प्रथाले विवाहपछि परिवारमा विखण्डन ल्याउने उनको भनाइ थियो । पछिल्लो समय किशोरकिशोरीले घर छाडेर हिँड्ने गरेको कुरातर्फ सङ्केत गर्दै उनले अभिभावकको सरसल्लाहलाई गलत सोचेर विद्रोह नगर्न सुझाव दिइन् । 

सर्लाही–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारीले दाइजो र बालविवाह प्रथा लामो समयदेखि मधेसमा नबदलिएको बताइन् । उनले समाजमा व्याप्त यस्ता कुरीति र कुसंस्कार शिक्षाको उज्यालो ज्योतिले मात्र हटाउन सक्ने भन्दै उनले छोरीहरूलाई पढाउन आग्रह गरिन् । 

कार्यक्रममा मधेसप्रदेशअन्तर्गत विभिन्न पालिकाका उपाध्यक्ष र उपप्रमुखहरूको सहभागिता थियो । सो अवसरमा छोरीलाई १२ कक्षा पढाएर २० वर्ष पारि विवाह गर्ने अभिभावक, बुहारीलाई स्नातक पढाउने अभिभावक र बिना दाइजो विवाह गर्ने जोडीलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

चन्द्रनगर गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि २० वर्ष पार गरी विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै पुगेर नगद रु ५० हजारसहित सम्मान र कक्षा १२ सम्म पढ्ने छोरीहरूलाई पठनपाठमा प्रोत्साहन गर्ने उद्देश्यसहित एकमुष्ट नगद रु ११ हजार दिँदै आएको छ ।

सम्बन्धित समाचार

सबै