सर्लाहीमा सर्पले टोकेर तीन वर्षीय बालककाे मृत्यु, उपचारमा लापरबाही भएको परिवारको आरोप

कौडेना । सर्लाहीको कौडेना गाउँपालिका–१ निवासी ३ वर्षीय बालक आदित्य गिरीको सर्पदंशका कारण मृत्यु भएको छ। विषालु सर्पले डसेपछि उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएका बालकको उपचारकै क्रममा मृत्यु भएको हो।

बालकको मृत्यु भएपछि मृतकका परिवारले अस्पताल प्रशासन र चिकित्सकमाथि उपचारमा लापरबाही गरेको गम्भीर आरोप लगाएका छन्। बालकका बुबा रवीन्द्र गिरीले अस्पताल पुर्‍याएपछि चिकित्सकहरूले समयमा उपचार सुरु नगर्दा र ढिलासुस्ती गर्दा आफ्नो छोरा गुमाउनुपरेको दाबी गरेका छन्।

“अस्पताल ल्याउँदासम्म छोराको अवस्था सामान्य नै थियो, तर चिकित्सकको ढिलासुस्ती र लापरबाहीले गर्दा समयमै उपचार पाउन नसक्दा उसको ज्यान गयो,” बुबा रवीन्द्रले दुखेसो पोखे।

यता, अस्पताल प्रशासनले भने परिवारले लगाएको आरोपको खण्डन गरेको छ। अस्पतालका चिकित्सकहरूले बालकलाई अस्पताल ल्याउनेबित्तिकै आकस्मिक कक्षमा राखेर उपचार प्रक्रिया सुरु गरिएको दाबी गरेका छन्।

“बालकलाई अस्पताल ल्याउनासाथ चिकित्सकको टोलीले तत्काल उपचार सुरु गरेको हो। हामीले बचाउने हरसम्भव प्रयास गरेका थियौँ, तर दुर्भाग्यवश बचाउन सकिएन,” अस्पताल स्रोतले भन्यो। चिकित्सकहरूले आफूहरूमाथि लगाइएको आरोप पूर्ण रूपमा निराधार र गलत रहेको जिकिर गरेका छन्।

घटनापछि अस्पताल परिसरमा केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो। हाल यस विषयमा थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

सबै