५ किलो गाँजासहित सोनवर्षाबाट एक नेपाली किशोर पक्राउ

मलंगवा । नेपाल-भारत सीमामा लागुऔषध तस्करी विरुद्ध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले एक नेपाली किशोरलाई पक्राउ गरेको छ। सोनवर्षास्थित एसएसबी ५१औँ बटालियनले शनिबार साँझ झण्डै ५ किलो गाँजासहित एक नेपाली किशोरलाई पक्राउ गरेका हुन्।

पक्राउ पर्नेमा मलङ्गवा नगरपालिकाको सुखचैना निवासी रवि किशन पटेल रहेका छन्।

कम्पनी कमाण्डर तथा सहायक सेनानायक सुमित कुमारका अनुसार सीमा स्तम्भ संख्या ३२६/३२, सोनवर्षा बजार नजिकै एसएसबी जवानहरूले विशेष जाँच अभियान चलाइरहेका थिए। सोही क्रममा नेपालबाट भारतीय सीमा क्षेत्रतर्फ हिरो प्यासन प्रो मोटरसाइकलमा सवार भई आउँदै गरेका ती किशोरलाई शंका लागेर रोकिएको थियो।

खानतलासी गर्दा उनको साथबाट रातो रङ्गको प्लास्टिकमा बेरिएको ४ किलो ९६० ग्राम गाँजा बरामद भएको हो। बरामद गरिएको गाँजा र मोटरसाइकलसहित अभियुक्तलाई आवश्यक कारबाहीका लागि सोनवर्षा थानामा बुझाइएको एसएसबीले जनाएको छ।

सोनवर्षा थानाका प्रमुख धर्मेन्द्र कुमारले बरामद गाँजा र मोटरसाइकल जफत गरी अभियुक्त विरुद्ध कानुन बमोजिम प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।

यद्यपि किशोरको उमेर भने एसएसबीले खुलाएको छैन ।

सम्बन्धित समाचार

सबै