लालबन्दी नगरपालिकाले भुक्तानी नदिएपछि नारायण खोला ट्रस ब्रिजको निर्माण स्थगित

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकामा निर्माणाधीन नारायण खोला ट्रस ब्रिजको निर्माण कार्य अनिश्चितकालका लागि स्थगित भएको छ ।

निर्माण व्यवसायीले सम्झौता अनुसारको रनिङ्ग बिल भुक्तानी नपाएको र कार्य प्रगतिका सम्बन्धमा पेश गरिएका फाइलहरूमा नगरपालिकाले सुनुवाइ नगरेको भन्दै काम रोकेका हुन् ।

बिर्तामोड–३, झापास्थित समता कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले लालबन्दी नगरपालिकाको कार्यालयलाई एक औपचारिक पत्र पठाउँदै २०८१ जेठ १९ गतेदेखि लागू हुने गरी निर्माण कार्य स्थगित गरिएको जानकारी दिएको छ ।

निर्माण कम्पनीका अनुसार लालबन्दी नगरपालिका र समता कन्स्ट्रक्सनबीच नारायण खोला ट्रस ब्रिज निर्माणका लागि २०७९ साल चैत १७ गते सम्झौता भएको थियो । सम्झौता बमोजिम काम अघि बढे पनि मूल्य समायोजन सहितको रनिङ्ग बिल भुक्तानीका लागि गत वैशाख १४ गते नगरपालिकामा निवेदन दिइएको थियो ।

तर, लामो समय बितिसक्दा पनि नगरपालिकाले उक्त निवेदनमाथि कुनै कारबाही नगरेको कम्पनीको गुनासो छ ।

यसैगरी, प्राविधिक कारणवश गर्नुपरेको कार्य परिवर्तनका लागि गत कार्तिक २८ गते दर्ता नं १०८९ मार्फत पेस गरिएको पत्रका सम्बन्धमा समेत नगरपालिका कार्यालयले हालसम्म कुनै निर्णय नगरेको पत्रमा उल्लेख छ ।

कामको भुक्तानी नहुँदा थप कार्य अगाडि बढाउन आर्थिक तथा प्राविधिक समस्या उत्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

समता कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि गोविन्द बहादुर बस्नेतद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘कार्यालयबाट भुक्तानी नभएसम्मका लागि २०८१ जेठ १९ गतेदेखि निर्माण कार्य स्थगित गरिएको छ । यसका कारण कार्यालयले तोकेको समयमा काम सम्पन्न गर्न नसकिने र यसबाट सिर्जना हुने सम्पूर्ण जवाफदेहिता स्वयम् लालबन्दी नगरपालिका कार्यालयको रहनेछ।’

यस विषयमा लालबन्दी नगरपालिका कार्यालयको आधिकारिक धारणा भने आउन बाँकी छ।

सम्बन्धित समाचार

सबै