काठमाडौं । बुद्ध एयरको काठमाडौंबाट जनकपुरका लागि उडेको एउटा विमानमा प्राविधिक समस्या देखिएपछि सोमबार बिहान आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गराइएको छ। विमानमा रहेका सबै यात्रु तथा चालक दलका सदस्यहरू सकुशल रहेको जानकारी प्राप्त भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, सोमबार बिहान करिब ७:०५ बजे जनकपुरका लागि उडेको बुद्ध एयरमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएको थियो। समस्याको जानकारी पाउने बित्तिकै विमानलाई तत्कालै बीचबाटोबाटै काठमाडौं फिर्ता गरियो।
विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार, “विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ र अवस्था सामान्य रहेको छ। विमानमा रहेका सबै यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित छन्।”
घटनापछि विमानस्थलमा केही समयका लागि आकस्मिक तयारी गरिएको थियो। विमान सुरक्षित अवतरण गरेपछि सबैले राहतको सास फेरेका थिए।
बुद्ध एयरले प्रभावित यात्रुहरूलाई उनीहरूको गन्तव्यसम्म पुर्याउनका लागि वैकल्पिक उडानको व्यवस्था मिलाउने तयारी गरिरहेको जनाएको छ। विमानमा देखिएको प्राविधिक समस्याबारे थप अनुसन्धान भइरहेको र प्राविधिक परीक्षणपश्चात विस्तृत जानकारी सार्वजनिक गरिने बुद्ध एयरले बताएको छ।