रौतहटमा इँटा उद्योगको खाडलमा डुबेर १० वर्षीय बालकको मृत्यु

रौतहट । रौतहटको बौधीमाई नगरपालिका–६ स्थित बलवान इँटा उद्योग परिसरमा जमेको पानीको खाडलमा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ।

सोमबार दिउँसो स्थानीय दीपेन्द्र राय यादवका छोरा सुप्रित यादव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर विश्वनाथ यादवको नेतृत्वमा थप अनुसन्धान टोली पनि खटिएको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का उठाई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। बालकको मृत्युको कारण र घटनाको वास्तविक अवस्थाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

स्थानीयवासीका अनुसार इँटाभट्टामा माटो निकाल्न खनिएका खाडलहरू नपुरिँदा वर्षायाममा पानी जम्ने र यस्ता दुर्घटनाको जोखिम बढ्ने गरेको छ।

सम्बन्धित समाचार

सबै