मलंगवा । सर्लाही प्रहरीले तोडफोड र हुलदंगाका घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सर्लाही ईश्वरपुर नगरपालिका–१५, सुकुनाहाका २८ वर्षीय बिनोद चौरसिया, बरहथवा नगरपालिका–३ का ३२ वर्षीय जय प्रसाद गौतम र सोही ठाउँका ३६ वर्षीय केशव गौतम रहेका छन्।
प्रहरीका अनुसार, ईश्वरपुर नगरपालिका–१५, बयलवास बस्ने देवी प्रसाद कोइरीयाको जग्गाको विषयमा स्थानीय रामलाल मण्डलले दिएको उजुरीका आधारमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। कोइरीयाको जग्गामा बनाइएको घर तोडफोड गरेको र हुलदंगा मच्चाएको आरोप उनीहरूमाथि छ।
पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा २८५ को बमोजिम आपराधिक उपद्रव मुद्दामा सर्लाही जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए।