सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक किशोर पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-६ का १८ वर्षीय जुमुन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
शुक्रबार बिहान करिब ४ बजे मियाँले प्रतिटोलका विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेका थिए। त्यसलगत्तै उनी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न पुगेका थिए। चोरी गर्न लाग्दा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला भएको थियो।
होहल्लापछि स्थानीयको सहयोगमा मियाँलाई पक्राउ गरिएको थियो।प्रहरीले मियाँको साथबाट मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी समेत बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्रबाट हराएको तथ्य खुलेको सर्लाही प्रहरीले जनाएको छ। बरामद भएको गाडी चोरी भएको गाडीसँग मेल खाएको प्रहरीको भनाइ छ।
सर्लाही प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।