उदयपुर । उदयपुरमा शनिबार बिहान भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्।
महोत्तरीको दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नम्बरको बस उदयपुर गढी गाउँपालिका–०७ जोगिटोलस्थित सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा महोत्तरीको बर्दिबास नगरपालिकाका विमलेश दत्तको मृत्यु भएको छ। उनको उपचारका क्रममा बिहान ९ः५० बजे निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। अन्य २८ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा सवार दुई जना भने सकुशल रहेका छन्।
प्रारम्भिक अनुसन्धानबाट बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।