रौतहटमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक गम्भीर घाइते

रौतहट । रौतहटको गुजरा नगरपालिकामा भएको एक दुखद मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। दुर्घटना बुधबार साँझ करिब ७:०५ बजे गुजरा नगरपालिका–५, हरिहरपुरस्थित भित्री सडकखण्डमा भएको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाटोमा अचानक आएको एउटा बाख्रालाई ठक्कर दिएको थियो। उक्त ठक्करबाट बाख्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–५ निवासी २३ वर्षीय आमोद चौधरी र पछाडि सवार सोही स्थानका २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए। उनीहरू दुवैलाई तत्काल उपचारका लागि चन्द्रपुर अस्पताल पुर्‍याइएको थियो।

उपचारका क्रममा चिकित्सकहरूले राति ७ बजेर ५५ मिनेटमा दिपेश चौधरीलाई मृत घोषणा गरेका थिए। मृतक चौधरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

मोटरसाइकल चालक आमोद चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ र उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकललाई इलाका प्रहरी चौकी हरिनगरले नियन्त्रणमा लिएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ असई रामेश्वर महतोको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै