बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा बारामा चार महिला पक्राउ

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा बालबालिकालाई सार्वजनिक स्थानमा डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जना महिलालाई पक्राउ गरेको छ।

जितपुर सिमरा उपमहानगरपालिका–१६, टांगिया बस्तीस्थित सार्वजनिक चौतारामा चार जना बालबालिकालाई मोबाइल चोरीको आरोप लगाउँदै बरको रुखमा डोरीले बाँधेर कुटपिट गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा स्थानीय ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईवा रहेका छन्। उनीहरूलाई असार १७ गते बुधबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी मिन बहादुर घलेका अनुसार पक्राउ परेका चारै जना विरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

घटनाबारे थप अनुसन्धानका लागि बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थपको अनुमति लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

सम्बन्धित समाचार

सबै