मलंगवा । काठमाडौंको जगन्नाथदेवल केन्द्रीय कारागारबाट फरार रहेका डाँका चोरी मुद्दाका एक प्रतिवादीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं। १ बस्ने २६ वर्षीय रमन भन्ने राम लाल योन्जन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, काठमाडौंको जगन्नाथदेवल केन्द्रीय कारागारमा डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका योन्जन जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।
विशेष गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीबाट खटिएको प्रहरी टोलीले उनलाई असार १९ गते बेलुकी ०८:३० बजेको समयमा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद प्रसाद गौतमका अनुसार नियन्त्रणमा लिइएका प्रतिवादी योन्जनलाई आवश्यक प्रक्रिया पूरा गरी कारागार कार्यालय सर्लाहीमा पठाइएको छ।