मधेश प्रदेश मन्त्रिमण्डल विस्तारः महिला मन्त्रीजति सबै सर्लाहीका

जनकपुरधामः नवनियुक्त मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई सपथ गराएकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनाअनुसार अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह र उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त भएका छन् ।

त्यसैगरी एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा एसका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा एसकै बेची लुंगेलीले ऊर्जा, सिँचाइ र खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

एउटै सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरीलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै एमालेकै राजकुमार लेखीलाई शिक्षा तथा संस्कृति मन्त्रालय र शत्रुधनप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै एमालेबाटै प्रमोदकुमार जयसवाललाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

मन्त्रीको सपथ खाएका तीनै जना महिला सर्लाहीबाट प्रतिनिधित्व गर्छन्। जसअनुसार विमला अन्सारी मलंगवा, बेची लुंगेली लालबन्दी र उर्मिला चौधरी ईश्वरपुरकी हुन्।

एमालेका केशव राय र शारदादेवी थापाले क्रमश स्वास्थ्य राज्यमन्त्री र शिक्षा तथा संस्कृति राज्यमन्त्रीको लिएका छन् । त्यस्तै जनमत पार्टीकी रन्जुकुमारी मण्डल खङ्गले विनाबिभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।

सम्बन्धित समाचार

सबै