सामाजिक सुरक्षा भत्तामा अनियमितता : वडाध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मत्सरीमा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त कार्यकारी अधिकृत, वडाध्यक्ष र वडा सचिवसहित ४२ जनाविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा सोमबार जारी प्रेस विज्ञप्तिअनुसार, तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुर, वडा नं. ३ का वडाध्यक्ष धर्मेन्द्र कुमार झा र वडा सचिव उमेश चौधरीसहित ४२ जनाले आपसी मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा कुल ३२ लाख २४ हजार १ रुपैयाँ हानिनोक्सानी पुर्‍याएको अभियोग लगाइएको छ।

आयोगको अनुसन्धानबाट आर्थिक वर्ष २०७४/०७५ देखि २०८१/०८२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न कानुनी योग्यता नपुगेका व्यक्तिहरूलाई लाभग्राही कायम गरी वृद्धभत्ता, एकल महिला तथा विधवा भत्ता वितरण गरिएको र कतिपयलाई दोहोरो शीर्षकमा समेत भुक्तानी गरिएको खुलेको छ।

अख्तियारका अनुसार, सेवाग्राहीबाट आवश्यक निवेदन तथा प्रमाण कागजात नलिई झुटा विवरणका आधारमा सामाजिक सुरक्षा परिचयपत्र जारी गरिएको पाइएको छ। त्यस्तै, बैंकिङ प्रणाली लागू हुनुअघि एउटै व्यक्तिले विभिन्न लाभग्राहीका नाममा औँठाछाप लगाएर भत्ता बुझेको र बैंकिङ प्रणाली लागू भएपछि पनि झुटा विवरण व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी अयोग्य व्यक्तिलाई भत्ता उपलब्ध गराइएको अनुसन्धानबाट देखिएको छ।

यसका साथै, उमेर नपुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता तथा श्रीमान् जीवितै रहेका महिलालाई समेत एकल महिला/विधवा भत्ता उपलब्ध गराई राज्यकोषको दुरुपयोग गरिएको अख्तियारले जनाएको छ।

उक्त कार्यबाट सार्वजनिक सम्पत्तिको हिनामिना भएको निष्कर्ष निकाल्दै आयोगले प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत लिखत तयार गरेको तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको कसुरमा सजाय र बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

सम्बन्धित समाचार

सबै