रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित अरुवा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर टोल निवासी शेख मुन्नाका ९ वर्षीय छोरा शेख तमिनको खोलामा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार फतुवा विजयपुर–६ मन्जुरघाटस्थित अरुवा खोलामा शनिबार दिउँसो नुहाउने क्रममा बालक डुबेका थिए।
घटनापश्चात् बालकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो। आज बिहान अस्पतालमा पोस्टमार्टम सम्पन्न भएपछि मृतकका फुपाजु शेख हसमुदिनले शव बुझिसकेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।