महोत्तरी । महोत्तरीको बर्दिबासमा मिनीट्रकको छतमा ‘फल्स बटम’ (नक्कली तला) बनाएर अवैध रूपमा ओसारपसार भइरहेको ४५४ किलोग्राम गाँजासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको विशेष प्रहरी टोलीले बर्दिबास नगरपालिका–३ बाट उक्त परिमाणको गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–३ ठेगाना भएका २६ वर्षीय विश्व तामाङ रहेका छन् ।
प्रहरीका अनुसार सिन्धुलीको भिमानतर्फबाट महोत्तरीतर्फ आउँदै गरेको बा ४ ख ५६९२ नम्बरको मिनीट्रकलाई शङ्का लागेर रोकी जाँच गर्ने क्रममा उक्त अवैध गाँजा फेला परेको हो । बरामद गाँजा मिनीट्रकको छतमा विशेष प्रकारको फल्स बटम बनाई ६० वटा पोकामा लुकाएर राखिएको अवस्थामा फेला परेको ब्यूरोले जनाएको छ ।
प्रहरीले चालक तामाङको साथबाट गाँजाका साथै ओसारपसारमा प्रयोग गरिएको बा ४ ख ५६९२ नम्बरको मिनीट्रक १ थान, सवारी चालक अनुमति पत्र (लाइसेन्स) १ थान, सवारी दर्ता किताब (ब्लुबुक) १ थान र मोबाइल १ थानसमेत बरामद गरेको छ ।
पक्राउ परेका तामाङ र बरामद गरिएका सामग्रीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) जीवन निरौलाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।