सिरहा । सिरहाको गोलबजार र आसपासको क्षेत्रमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ।
जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन वा हुलदङ्गा भई शान्ति भङ्ग हुन सक्ने उच्च जोखिम देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम आज (साउन १४ गते) दिउँसो २:०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।
कर्फ्यु लागू हुने चार किल्ला (सिमाना):
पूर्व: गोलबजार नगरपालिका वडा नं. ३ स्थित कसहा खोला
पश्चिम: गोलबजार नगरपालिकाको चोहर्वा चौक
उत्तर: गोलबजार नगरपालिका वडा नं. ६ स्थित सैनिक चौक
दक्षिण: गोलबजार नगरपालिका वडा नं. ४ स्थित रा.प्र.रा. बहुमुखी क्याम्पस वरपरको क्षेत्र
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा कर्फ्युको पूर्ण पालना गरी जिल्लाको समग्र शान्ति सुव्यवस्थालाई सामान्यीकरण गर्न सबै पक्षसँग सहयोगको अपेक्षा गरिएको छ।
साथै, कर्फ्यु आदेशको बर्खिलाप हुने गरी कुनै पनि किसिमको गतिविधि गरे वा गराइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ।
